Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार, को को छन् सरकारमा?

मोहम्मद युनुसले के भने?

बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारको पतनपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले शपथ लिएका छन् । बिहीबार राति उनीहरूले राष्ट्रपतिबाट शपथ लिएका हुन् । नवगठित सरकार १७ सदस्यीय हुने छ ।

मोहम्मद युनुसले के भने?

ढाका आइपुगेपछि उनले बंगलादेशको पुनर्निर्माणका लागि "अनुशासन" आवश्यक भएकोमा जोड दिए। "कडा परिश्रम र कार्य सम्पन्न," विमानस्थलबाट हाँस्दै निस्किँदा युनुसले भने। "नयाँ अवसरहरू आएका छन्।" "आज हाम्रा लागि गौरवको दिन हो," उनले पछि संवाददाताहरूसँग भने।

बंगलादेशले "दोस्रो पटक स्वतन्त्रता" प्राप्त गरे जस्तै भएको भन्दै उनले देशमा शान्तिसुव्यवस्था कायम गर्न आह्वान गरे। केही सातादेखि बंगलादेश अशान्त रहँदै आएको छ। जुन महिनामा सरकारविरुद्ध आन्दोलन सुरु भएपछि ४०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

bn.webp

युनुसले मृतकहरूप्रति सम्मान प्रकट गर्दै उनीहरूले "देशको रक्षा गरेको" र हसिनाको शासनपछि बंगलादेशलाई "नयाँ जीवन" प्रदान गरेको टिप्पणी गरे। हसिनाले प्राध्यापक युनुसलाई "समाजको शत्रु" भन्दै आएकी थिइन्। आर्थिक अपचलनको अभियोगमा दोषी ठहर गर्दै अदालतले युनुसलाई छ महिनाको जेल सजाय पनि सुनाएको थियो। धरौटीमा छुटेका युनुसले उक्त सजायविरुद्ध पुनरावेदन गरेका छन्।

युनुस र उनका समर्थकहरूले राजनीतिक दुराशयबाट प्रेरित भएर मुद्दा चलाइएको दाबी गर्दै आएका छन्। उनले युवाहरूलाई देश पुनर्निमाणमा सहभागी हुन आह्वान गरे। "बंगलादेश सुन्दर देश बन्न सक्छ, तर हामीले ती सम्भावनाहरू भत्कायौँ," उनले भने।  आफ्नो स्वागत गर्न आइपुगेका विद्यार्थीहरूतिर सङ्केत गर्द उनले भने, "हामीले फेरि ब्याड बनाउनुपर्छ, त्यो नयाँ ब्याड उनीहरूले बनाउने छन्।" 

को को हुन् अन्तरिम सरकारमा सहभागी सदस्यहरू:

डा. मोहम्मद युनुस

प्रोफेसर मुहम्मद युनुस 'ग्रामीण बैंक'का संस्थापक हुन् । ग्रामीण बैंकको स्थापना, लघुकर्जा र लघुवित्तको अवधारणालाई मार्गनिदेशन गरेकोमा युनुसलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

उनले सन् १९९८ देखि २०२१ सम्म संयुक्त राष्ट्र संघको उद्देश्यलाई समर्थन गर्ने सार्वजनिक परोपकारी संस्था संयुक्त राष्ट्र फाउन्डेसनको बोर्ड अफ डाइरेक्टरका रूपमा काम गरे । युनुसले अमेरिकालगायत अन्य धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।

डा. सलेहुद्दीन अहमद

डा. सालेहुद्दीन अहमदले मे १, २००५ देखि अप्रिल ३०, २००९ सम्म बंगलादेश बैंकको ९औँ गभर्नरको रूपमा काम गरेका थिए । आफ्नो कार्यकालमा उनले बैंकिङ क्षेत्रमा अनुशासन प्रवर्द्धन गर्न र केन्द्रीय बैंकको कार्यसञ्चालनलाई आधुनिकीकरण गर्ने उद्देश्यले सुधारका काम गरे ।

डा. अहमदले सन् १९७० मा ढाका विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापकको रूपमा आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि, उनी १९७१ मा तत्कालीन पाकिस्तानको निजामती सेवामा प्रवेश गरे । तर, १९७२ मा उनी फर्किएर ढाका विश्वविद्यालयमा लेक्चररको रूपमा काम गरे ।

वर्षौंसम्म उनले बंगलादेशको प्रशासनमा विभिन्न पदमा रहेर काम गरे ।

सखावत हुसेन

एम सखावत हुसेन बंगलादेशका पूर्व निर्वाचन आयुक्त (२००७–२०१२) हुन् । उनी बंगलादेश सेनामा ब्रिगेडर जनरल (निवृत्त) थिए । उनले ३२ भन्दा धेरै पुस्तक लेखेका छन् । उनी सुरक्षा र रक्षा विश्लेषकको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा टिप्पणीकारको रूपमा चिनिन्छन् ।

उनले बंगलादेशको सबैभन्दा ठूलो वाणिज्य बैंक सोनाली बैंकको सञ्चालक समितिमा दुई वर्ष सेवा गरे । उनले जर्मनीमा नाटो अभ्यासमा भाग पनि लिएका थिए । उनले राइनमा बेलायती सेनासँगको सैन्य अभ्यासमा भाग लिने बंगलादेशी सैन्य प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

डा. मोहम्मद नजरुल इस्लाम (आसिफ नजरुल)

आसिफ नजरुल कानुनका प्राध्यापक हुन् । उनी अनुसन्धानकर्ता र नागरिक समाजका सदस्य पनि हुन् । उनले संवैधानिक, अन्तर्राष्ट्रिय कानुनी मुद्दाहरूमा धेरै पुस्तक र शोधपत्र लेखेका छन् ।

उनले संवैधानिक सुधार, निर्वाचन र सुशासनका विषयमा अमेरिका, युरोप र दक्षिण एसियामा भएका सम्मेलनहरूमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनी सन् २०११–१७ सम्म दक्षिण एसियाली मानव अधिकारको ब्युरो सदस्य थिए ।

आदिलुर रहमान खान

आदिलुर रहमान खान एक मानव अधिकारवादी हुन् । उनी 'ओधिकार' नामक मानव अधिकार संस्थाका संस्थापक हुन् । उनी वकिल र बंगलादेशका पूर्व नायव महान्यायाधिवक्ता पनि हुन् । अक्टोबर २०२२ देखि उनी मानव अधिकारका लागि अन्तर्राष्ट्रिय महासंघ (एफआईडीएच) को महासचिवमध्ये एक हुन् ।

उनले ढाका विश्वविद्यालयमा कानुनको अध्ययन गरेका थिए । उनी लेफ्टिनेन्ट जनरल हुसेन मोहम्मद एरशादविरुद्धको लोकतान्त्रिक आन्दोलनमा सहभाथी थिए । उनले ढाका विश्वविद्यालय र भ्रिजे युनिभर्सिटी ब्रसेलबाट कानुनमा स्नातकोत्तर गरेका छन् ।

एएफ हसन आरिफ

एएफ हसन आरिफ बंगलादेशको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता हुन् । उनी सन् १९७० देखि कानुनको अभ्यास गर्दै आएका छन् ।

उनले अक्टोबर २००१ देखि अप्रिल २००५ सम्म बंगलादेशका लागि महान्यायाधिवक्ताको पद सम्हाले । उनी जनवरी २००८ देखि जनवरी २००९ सम्म बंगलादेशको कामचलाउ सरकारको कानुनी सल्लाहकार थिए । उनी सन् १९६७ मा भारतको पश्चिम बंगालको कलकत्ता उच्च अदालतमा अधिवक्ताको रूपमा प्रवेश गरेका थिए ।

मोहम्मद तौहिद हुसेन

मोहम्मद तौहिद हुसेन बंगलादेशका पूर्व विदेश सचिव हुन् । उनी दक्षिण अफ्रिकाका लागि बंगलादेशका पूर्व उच्चायुक्त पनि हुन् ।

उनी सन् १९८१ मा बंगलादेशको विदेश सेवामा प्रवेश गरेका थिए । जनवरी १९९९ देखि फेब्रुअरी २००० सम्म हुसेनले विदेश सेवा एकेडेमीको प्रिन्सिपलको रूपमा सेवा गरे । १७ डिसेम्बर २००६ देखि ८ जुलाई २००९ सम्म हुसेन बंगलादेशको विदेश सचिव थिए ।

सैयदा रिजवाना हसन

सैयदा रिजवाना हसन बंगलादेश पर्यावरण वकिल संघ (बेला)को प्रमुख कार्यकारी हुन् । उनी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को सदस्य पनि हुन् । उनी विकास र वातावरणीय अर्थशास्त्रका लागि दक्षिण एसियाली नेटवर्कको बोर्डकी सदस्य पनि हुन् ।

सुप्रदीप चकमा

सुप्रदीप चकमा चटगाउँ पहाडी क्षेत्र विकास बोर्डका अध्यक्ष हुन् । उनले यसअघि भियतनाम र मेक्सिकोका लागि बंगलादेशका राजदूतका रूपमा काम गरेका थिए ।

बीसीएस १९८५ ब्याचको विदेश क्याडरको रूपमा उनले रबातमा रहेको बंगलादेशी दूतावास, कोलम्बोमा बंगलादेश उच्चायोग, ब्रसेल्सस्थित बंगलादेशी दूतावास र अंकारामा रहेको बंगलादेशी दूतावासमा विभिन्न पदमा पनि काम गरेका थिए ।

फरिदा अख्तर

फरिदा अख्तरले कृषि, समुद्री मत्स्यपालन, जनसंख्या र विकासका विषयमा धेरै अनुसन्धान गरेकी छन् । उनले स्थापना गरेको एक संस्थाले तीन लाखभन्दा धेरै किसान परिवारलाई समेटेर जैविक विविधतामा आधारित खेती प्रणाली चलाउँछ ।

उनी धेरै पुस्तक पनि लेखेकी छन् । उनी राष्ट्रिय दैनिकमा नियमित स्तम्भकार पनि हुन् । उनले  जैविक विविधता, वातावरण, महिला सशक्तीकरकणसहित विविध विषयमा कलम चलाउँछिन् ।

विधान रञ्जन रोय

प्रोफेसर विधान रञ्जन रोय पोद्दार बंगलादेशको मनोविज्ञान विशेषज्ञ हुन् । उनी नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड हस्पिटलमा मनोचिकित्सा विभागका काम गर्छन् ।

शर्मीन मुर्शिद

शर्मीन मुर्शिद मानव अधिकार संगठन 'ब्रोती'की प्रमुख कार्यकारी अधिकृत हुन् । २००१ देखि उनको संस्थाले सीमान्तकृत समूदाय (विशेष गरी आदिवासी जनजाति)हरूको अधिकारका लागि काम गर्दै आएको छ ।

एएफएम खालिद हुसेन

अबुल फैज मुहम्मद खालिद हुसेन 'डा. एएफएम खालिद हुसेन' भनेर चिनिन्छन् । उनी एक बंगलादेशी इस्लामिक विद्वान, शिक्षक, लेखक, शोधकर्ता, सम्पादक, अन्तर्राष्ट्रिय इस्लामिक वक्ता र समाज सुधारक हुन् ।

उनी हेफाजत–ए–इस्लाम बंगलादेशका पूर्व उपाध्यक्ष, इस्लामी आन्दोलन बंगलादेशका शिक्षा सल्लाहकार, अत–तौहीद मासिक पत्रिकाका सम्पादक र बालाग अल–शर्कका सहायक सम्पादक हुन् ।

उनी उमरगानी एमईएस कलेजमा इस्लामिक इतिहास र संस्कृति विभागका प्राध्यापक र प्रमुख थिए । उनी निजाम–ए–इस्लाम पार्टीको विद्यार्थी संगठन इस्लामिक विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष थिए ।

फारुक–ए–आजम

नौसेना कमान्डो फारुक–ए–आजम एक स्वतन्त्रता सेनानी हुन् । उनलाई 'वीर प्रतीक' प्रदान गरिएको थियो । सन् १९७१ मा मुक्ति संग्रामको सुरुवातमा उनले हाई स्कुल पास गरे । 'अपरेसन ज्याकपोट' मुक्ति संग्रामको एकमात्र समन्वयन गरेर गरिएको अपरेसन थियो । उनी चटगाउँ बन्दरगाहमा आक्रमण गर्न गठित टोलीका डेपुटी कमान्डर थिए ।

नूरजहाँ बेगम

नूरजहाँ बेगम ग्रामीण बैंकको स्थापनाकालमा प्राध्यापक मुहम्मद युनुसका प्रारम्भिक सहयोगी थिइन् । बैंकका संस्थापक प्राध्यापक युनुसले बैंक छाडेलगत्तै उनले २०११ मा ग्रामीण बैंकको कार्यवाहक प्रबन्ध निर्देशकको रूपमा काम गरिन् । उनले ग्रामीण बैंकको प्रशासन, तालिम र अन्तर्राष्ट्रिय कार्यक्रमहरूको महाप्रबन्धकको रूपमा एक दशकभन्दा बढी समय सेवा गरिन् । उनले बैंकको केन्द्रीय प्रशिक्षण संस्थानको प्रिन्सिपलको रूपमा सेवा गरिन् ।

उनले विश्वभरका माइक्रोक्रेडिट कार्यक्रमहरूको सल्लाहकार, प्रशिक्षक र मूल्यांकनकर्ताको रूपमा पनि काम गरेकी छिन् । नूजहाँले ग्रामीण फाउन्डेसनबाट 'सुसान एम डेभिस लाइफटाइम अचिभमेन्ट अवार्ड, २००८' पाएकी थिइन् । यसैगरी, उनले वर्ल्ड समिट मिलेनियम डेभलपमेन्ट गोल्स अवार्ड, २००९' र ग्रामीण फाउन्डेसनले भिजन अवार्ड, २००९ पाएकी थिइन् ।

नाहिद इस्लाम

२६ वर्षीय नाहिद इस्लाम बंगलादेशको कोटा सुधार आन्दोलनका प्रमुख नेताहरूमध्येका एक हुन् । जुन आन्दोलनले शेख हसिनाको सरकारको पतन गरायो । उनी १९९८ मा ढाकामा जन्मिएका हुन् । उनी ढाका विश्वविद्यालयमा २०१६–१७ ब्याचको समाजशास्त्रका विद्यार्थी हुन् । उनका बुबा शिक्षक र आमा गृहिणी हुन् । नाहिद विवाहित हुन् । उनका एक कान्छा भाइ पनि छन् ।

आसिफ महमूद

आसिफ महमूद विद्यार्थीहरूको भेदभाव विरोधी आन्दोलनका प्रमुख संयोजक हुन् । आसिफ सन् २०१७–१८ ब्याचका ढाका विश्वविद्यालयको भाषाविज्ञान विभागका विद्यार्थी हुन् । २६ वर्षीय आसिफले नक्खलपारा हुसेन अली हाई स्कुलमा पढेका थिए । उनले २०१५ मा एसएससी पास गरेका थिए । उनले सन् २०१७ मा आदमजी क्यान्टोनमेन्ट कलेजबाट एचएससी पास गरेका थिए ।

- एजेन्सीको सहयोगमा ।