Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

धरान खानेपानी विवादः मेयर साम्पाङले आन्दोलनमा उत्रिएका १० दललाई बोलाए वार्तामा

धरानमा खानेपानीको शुल्क र महसुल बढाएको विषयमा विभिन्न दलहरुले आन्दोलन चर्काउन थालेपछि मेयर हर्क साम्पाङले मौखिक रूपमा वार्ताका लागि आह्वान गरेका छन् । आज दलहरूको अगुवाइमा नगरपालिका घेराउ कार्यक्रम उग्र भएपछि साम्पाङले मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका थिए ।

खानेपानीको महसुल वृद्धि भएपछि धरान उपमहानगरपालिकाको नेतृत्वविरुद्ध १० दल आन्दोलनमा उत्रिएका छन् । कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, प्रमुख प्रतिपक्ष माओवादीलगायतका १० दलरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले बिहीबार मेयर हर्कराज राईविरुद्ध नाराबाजी गर्दै धरान उपमहानगरपालिकामा नाराजुलुससहित धर्ना दिएका छन् ।

विद्यार्थीसहित पुगेका प्रदर्शनकारीले धरान उप महानगरको गेटमा तोडफोड समेत गर्न थालेपछि प्रहरीसँग ठेलम ठेल समेत भएको थियो । आन्दोलन सशक्त बनेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले राजनीतिक दलहरूलाई संयमित भएर वार्ता र छलफल गरी समस्याको समाधान गर्न अनुरोध गरेका थिए । नौं हजार ९०० प्रतिशतसम्म शुल्क र महसुलमा वृद्धि गरेपछि धरानमा क्रियाशील १० राजनीतिक दलले खानेपानी व्यवस्थापन बोर्डविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

बोर्डको अध्यक्ष भएका हैसियतले मेयर साम्पांगले मनपरी ढङ्गले खानेपानीको नयाँ धारा जडा, नामसारी र महसुलमा मनपरी ढङ्गले वृद्धि गरेको दलहरुले आरोप लगाएका छन् । दलहरूले आन्दोलनका क्रममा खानेपानी बोर्डको कार्यालय र काउन्टरहरूमा समेत तालाबन्दी गरेका थिए ।

तालाबन्दीपछि मेयर साम्पाङ रिट निवेदन लिएर उच्च अदालत गएका थिए । उच्च अदालतले तालाबन्दी खोल्न आदेश दिएको थियो । बुधबारको आदेशपछि दलहरूले आज तालाबन्दी खोलेका थिए । दलहरूले तालाबन्दी खोलेसँगै खानेपानीको काउन्टरहरूमा विद्यार्थी समूहले बिहीबार फेरि तालाबन्दी गरेका छन् ।