अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगले नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रमा कार्यरत सहायक लेखापाल सुधीरकुमार चतुर्वेदी विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । चतुर्वेदी २०६६ कात्तिक ९ मा सेवा प्रवेश गरेका थिए । नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्र, रुपन्देहीमा क्लर्क (लेखा तह–घ) पदमा पदस्थापन भएका चर्तुर्वेदी त्यसपछि बढुवा भई सहायक लेखापाल बनेका थिए ।
सेवा प्रवेश गर्दा चर्तुर्वेदीले विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाइस्कूल) तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धांक पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (विहार) बाट जारी आचरण प्रमाण–पत्रलगायत शैक्षिक योग्यताका कागजात पेस गरेका थिए । अनुसन्धानका क्रममा उनले पेस गरेका सबै कागजातहरु नक्कली भएको भेटिएको थियो ।
अख्तियारका प्रवक्ता नरहरी घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाण–पत्रहरु पेस गरी हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको देखिएकोबाट निज सुधिर कुमार चतुर्वेदीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइ विशेष अदालतमा आरोप–पत्र दायर गरिएको छ ।’
कानुनको यो दफाविरुद्धको कसुर गरेमा ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैँयादेखि २० हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ । दफा १६ को उपदफा १ मा ‘कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुट्टा विवरण दिएमा वा सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेस गरेमा निजलाई कसुरको मात्रा अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ’ विज्ञप्तिमा भनिएको छ ।