Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

‘एन्टीमोटम’ विधिबाट हेलिकोप्टर दुर्घटनाका मृत्तकको शव परीक्षण

नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा हिजो बुधबार हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको पोष्टमर्टम शुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहानदेखि पोष्टमर्टमको प्रक्रिया शुरू भएको हो ।

शव पहिचान गर्न केही दिन लाग्ने जनाइएको छ । मृतक चिनियाँ नागरिकको ‘एन्टीमोटम’ विधिबाट परीक्षणका निम्ति विवरण संकलन गर्नुपर्ने भएकाले केही दिन लाग्ने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का फेन्सिक मेडिसिन विभाग प्रमुख डा। गोपालकुमार चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार, जलेर पाँचै शव चिन्नै नसकिने अवस्था छ । एन्टीमोटम परीक्षणका निम्ति परिवारले नमुना तथा विवरण उपलब्ध गराएपश्चात् ‘म्याचिङ’ थालिने जनाइएको छ । “पाइलटका परिवारले विवरण उपलब्ध गराइसक्नु भएको छ, आज चिनियाँ नागरिकहरूको पनि विवरण संकलन गर्छौँ । भोलिदेखि मात्रै म्याचिङको कम हुन्छ । परिवारलाई बुझाउन अझै केही दिन लाग्छ’, उनले भने ।

शवको ‘पोस्टमार्टम’ बाट मृत्युको कारण मात्र पत्ता लगाउन सकिन्छ । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको प्रष्ट कारण देखिएकाले यसमा एन्टीमोटम विधिबाट विभागले पहिचान प्रक्रिया अघि बढाएको उनले बताएका छन् । एन्टीमोटम विधिमा मृतकको औँठाछाप, दाँतको मेडिकल रिपोर्ट र अरू शारीरिक विवरणका आधारमा शव पहिचान गरिन्छ । यसरी सम्भव नभएमा डीएनए परीक्षणमार्फत पहिचान गर्नुपर्ने हुन्छ । बुधवार दिउँसो काठमाडौंबाट रसुवाका निम्ति उडेको एयर डाइनेस्टीको एन–एजेडी हेलिकोप्टर सूर्यचौरमा दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।