Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बंगलादेशबाट भागेर भारत पुगेकी शेख हसिनालाई बेलायतले शरण दिएन

आरक्षणविरोधी विद्यार्थी आन्दोलनका कारण भारत पलायन भएकी बंगलादेशका निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदलाई बेलायतले शरण दिन अस्वीकार गरेको छ ।

बंगलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन भएकी हसिनाले बेलायतमा शरण दिनका लागि अपिल गरेकी थिइन् । उनको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाएको छ ।

बंगलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार कुनै न कुनै रूपमा हसिना भएको लक्षित गर्दै भविष्यमा हुने अनुसन्धानका कारण बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने बेलायतको विदेश मन्त्रालयले प्रस्ट पारेको छ । विदेश मन्त्रालयका प्रवक्ता डेभिड लाम्मीले सो विषयमा व्यक्त गरेको धारणा अनुसार बेलायत सरकारले बङ्गलादेशमा सिर्जित घटनाबारे स्वतन्त्र र निष्पक्ष छानबिन होस् भन्ने चाहेको द इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।

त्यसका लागि बेलायतमा दिइने शरणले निष्पक्ष अनुसन्धानका कारण अपेक्षित सुरक्षा प्रदान गर्न नसक्ने उनले प्रस्ट्याएका छन् । विद्यार्थीको उग्र प्रदर्शनपछि सोमबार राजीनामा दिएर हसिना भारत पलायन भएकी थिइन् । त्यहाँबाट बेलायतमा शरण लिनका लागि उनले प्रक्रिया सुरु गरेकी थिइन् ।

भविष्यमा हुने अनुसन्धानले बेलायतबाट बङ्गलादेश फिर्ता पठाउनुपर्ने अवस्था सिर्जना गरेमा त्यो झन् अप्ठ्यारो हुने भएकाले अमेरिका, फिनल्यान्ड वा अन्य मुलुकमा शरणका लागि अपिल गर्नुपर्नेमा जोड दिइएको छ । तर, अमेरिकाले पनि हसिनाको भिषा रद्द गरेको छ ।

बेलायत सरकारले बंगलादेशमा घटित घटनाको संयुक्त राष्ट्रसङ्घले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने धारणा यसअघि नै दिएकाले पनि हसिनालाई त्यहाँ शरण लिन अप्ठ्यारो परेको हो ।