बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी हुलाकी सडकमा पसेपछि सवारीसाधन आवागमनमा समस्या भएको छ। वर्षामा पानी पर्नासाथ पेडारी नालामा आउने बाढी नेपालगन्ज–गुलरिया हुलाकी सडकबाटै बगेर बर्सेनि सर्वसाधारण नागरिकलाई पीडा दिने गरेको छ ।
खजुरा गाउँपालिकाको केन्द्र खजुरा बजारमै रहेको पेडारी नालामा रहेको पुलको निकास साँघुरो भएका कारण खोलामा आएको बाढी सडकबाट बगिरहेको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिए । ‘ठूलो बाढी आउनासाथ सडकबाटै बाढी बग्ने गरेका कारण लामो समयसम्म सवारी आवागमन ठप्प हुने गर्दछ,’ उनले भने, ‘वर्षाको समयमा मात्र चर्चामा आउने खोलाको चाप र पानीको सतह वृद्धि हुनासाथ साना सवारीसाधन र पैदलयात्रीलाई आवतजावतमा सास्ती भएको छ।’
निर्वाचनको वेला चुनावी ‘एजेन्डा’ बन्ने गरेको पेडारी नालाको पुल अरू वेला चर्चामै नआउने गरेको उल्लेख गर्दै उनले भने, ‘पेडारी नालामा अचानक आउने बाढीले खजुरा क्षेत्रलगायत नेपालगन्ज–गुलरिया सडकमा आवत–जावत गर्ने सयौँ सर्वसाधारण पीडित हुने गरेका छन् ।’ खोलामा अचानक बाढी आउँदा आवत–जावत गर्ने सवारीसाधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् । सामान्य पानी सहजै बग्ने गरे पनि ठूलो बाढी आउँदा पुल साँघुरो भएका कारण खोला भरिएर वारिपारि सडकमाथिबाट बाढी बग्ने गरेको स्थानीय कृष्णविक्रम केसीले बताए ।
बर्सेनि सडक वारपार गर्ने मोटरसाइकल बगाएर दुर्घटना हुने गरेका छन्। वर्षाको समयमा खोलामा बाढी आएपछि नेपालगन्ज आवत–जावतमा कठिनाइ हुने गरेको उनको भनाइ छ। नेपालगन्ज–गुलरिया हुलाकी चारलेन सडकमा पर्ने अन्य खोलानाला र कल्भर्ट विस्तार भइसके पनि पेडारी खोलामा एकतर्फी गाडी सञ्चालन हुने जीर्ण पुल विस्तार हुन सकेको छैन। पुल विस्तार नहुँदासम्म वर्षामा डुबानको समस्या कायमै रहने भएकाले जनताले सास्ती व्यहोर्नुपरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए।
पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्ने गरेको छ । अग्लो पुल निर्माणका लागि प्रक्रिया अघि बढेको उनको भनाइ छ ।