Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बंगलादेशमा संसद्‍ भंग, सरकारको नेतृत्व गर्न नोबेल विजेता मोहम्मद युनुस सहमत!

बंगलादेशमा संसद्‍ भंग भएकाे छ। विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिनाले देश छाडेकाे २४ घण्टापछि देशको संसद्‍ भंग भएकाे हो। आन्दोलनरत विद्यार्थी नेताहरूले मंगलबार दिउँसोसम्म संसद भंग गर्न अल्टिमेटम दिएका थिए। उनीहरुले संसद भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका थिए।

साेहीअनुसार राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार देशको संसद्‍ भंग गरेका हुन्। राष्ट्रपति कार्यालयको प्रेस विभागले एक सूचना जारी गर्दै संसद् भंग भएको जानकारी दिएको छ। सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ। उता बंगलादेश सेना प्रमुख वाकेर उज जमनले नयाँ सरकार बनाउने तयारी थालिसकेका छन्। सरकार बनाउन उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

विद्यार्थी नेताहरूले भने सेना समर्थित वा सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन्। विद्यार्थी नेताहरूले नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन्। युनुसले पनि यसलाई स्वीकार गरेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।  

सरकारको नेतृत्व गर्न नोबेल विजेता मोहम्मद युनुस सहमत

नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस बंगलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न सहमत भएका छन् । द डेली स्टारले विश्वसनीय स्रोतको हवाला दिँदै प्राध्यापक युनुस अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएको जनाएको हो । 

युनुसको भनाइ उद्धृत गर्दै डेली स्टारले लेखेको छ, 'सुरुमा छात्रहरूले मलाई सम्पर्क गर्दा त म सहमत थिइनँ । मैले उनीहरूलाई मेरा धेरै कामहरू बाँकी रहेको बताएको थिएँ । तर विद्यार्थीहरूले बारम्बार आग्रह गरिरहे ।' युनुसलाई विद्यार्थीले गरेको आग्रह भन्दै डेली स्टारमा लेखिएको छ, 'यस आन्दोलनमा धेरै मान्छेहरूले ज्यान गुमाएका छन् जसमा विद्यार्थी र सर्वसाधारण छन् । अब बंगलादेशलाई ठीक ढंगले चलाउने अवसर आएको छ । र, यो तबमात्र सम्भव छ कि जब तपाईंले जिम्मेवारी लिनुहुन्छ । यदि तपाईं तयार हुनु भएन भने हाम्रा लागि राम्रो हुँदैछ । त्यही भएर पनि हामीले तपाईंलाई जिम्मेवारी लिन आग्रह गरेका हौँ ।'

युनुस यतिबेला विदेशमा रहेका छन् । उनी पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन गएका थिए । तयसपछि उपचारका लागि भन्दै उनको विदेश भ्रमण लम्बिएको छ । छिट्टै नै उनी स्वदेश फर्कने बताइएको छ । यसअघि युनुसले शेख हसिनाको राजीनामापछि बंगलादेश 'स्वतन्त्र' भएको टिप्पणी गरेका थिए । हसिनाको कब्जामा रहेको मुलुक स्वतन्त्र भएको उनले भारतीय सञ्चारमाध्यम द प्रिन्टसँगको कुराकानीमा भनेका थिए । अवामी लिग नेतृत्वको सरकारले युनुसलाई १९० भन्दा बढी आरोप लगाएको छ । हसिनाले आफ्नै बुवा बंगबन्धु शेख मुजिबुर रहमानको विरासत ध्वस्त पार्ने काम गरेको युनुसको आरोप छ ।