प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापी नगर्ने बताएका छन् । मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएको भन्दै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताए ।
भिडियो:
उनले भने, ‘भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज गर्दैन् । कसैले कसुर गर्यो भने मुख हेरेर अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन । अर्को कुरा अहिलेको सरकार प्रतिशोधका लागि होइन, अर्थतन्त्रमा र समाज सुधार एवम विकासको गति ल्याउनको लागि हो । त्यसैले यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने कसैप्रति अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने खालको काम पनि गर्दैन् । कसैले भ्रष्टाचार गर्यो भने अनुहार पनि हेरिर्दैन । कोही उम्किन पनि पाउँदैन् ।’

उनले कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भनेर तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको पनि उनले बताए ।
उनले भने,‘करको दर बढाएर, मात्रा र दायरा फराकिलो बनाएर पनि हुँदैन् । कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भन्ने कुरा सरकारले बुझेको छ । तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको छ ।’
जिन्दगीमा कहिँल्यै भ्रष्टाचार गरिन्
प्रधानमन्त्री केपी शर्मा ओलीले, आफूले जिन्दगीमा कहिँल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका छन् । बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिँने भन्दै उनले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका हुन् ।
उनले भने,‘यस समिति समक्ष म स्पष्ट पार्न चाहन्छु । मैले पहिले पनि जिन्दगीमा कहिँल्यै भ्रष्टाचार गर्दिन भ्रष्टाचार सहिन पनि मेरो नजर बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक रुपमा कुरा उठाउँनु हिलो छ्याप्नु छुट्टै कुरा हो । म दावाकासाथ भन्छु । यो धर्तिको अदालतमा मात्र होइन चित्रगुप्तका अगाडि पनि म जवाफ दिन सक्छु । मलाई धन आर्जन गर्नु छैन् । राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन मेरो नौतिकताले पनि दिँदैन् ।’

उनले आफ्नो नजरभन्दा बाहिर कसैले भ्रष्टाचार गरेकोलाई आफूले गर्न दिएको भन्न नमिल्ने बताए ।