'सेनाले बनाउने सरकार विद्यार्थीहरूलाई अमान्य'
बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई १५ वर्ष लामो सत्ताबाट हटाउने आन्दोलनको नेतृत्व गरेका २६ वर्षिय युवक नहिद इश्लाम को हुन् भन्ने प्रश्न अहिले उठिरहेको छ । ढाका विश्वविद्यालयमा सोसियोलोजीका विद्यार्थी इश्लामले ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेसन मुभमेन्ट’को राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै आएका थिए ।
उनकै नेतृत्वमा आरक्षण विरोधी आन्दोलन बंगलादेशमा सुरु भएकोमा सो आन्दोलन पछि प्रधानमन्त्रीको राजीनामामा केन्द्रित भएको थियो । उनलाई १९ जुलाई २०२४को मध्यरातमा कम्तिमा २५ जनाको एउटा समूहले ढाकाको सबुजबागस्थित घरबाट समातेर अज्ञातस्थलमा लगेर विद्यार्थी आन्दोलन सुरु गर्नुको कारणबारेमा सोधेको थियो ।
उनलाई पूर्वाकाल्फको पुल मुनि २१ जुलाई २०२४मा अचेत अवस्थामा भेटिएको थियो । उनलाई २६ जुलाईमा गोनोशास्थ्य नगर अस्पतालमा प्रहरीले लगेको जनाइएको छ । अस्कर टाउकोमा बंगलादेशको झण्डा बाँधेको अवस्थामा देखिने इश्लाम नरम रुपमा बोल्ने गर्दछन् । उनले मंगलबार मात्रै सेनाले गर्ने सरकारको नेतृत्व स्वीकार नगर्ने भन्दै नोबेल पुरस्कार बिजेता अर्थशास्त्री मोहम्मद युनुसलाई सरकार प्रमुख बनाउनुपर्ने माग राखेका छन् ।
उनले सोमबार विद्यार्थीहरुलाई सम्बोधन गर्दै आफूहरुले आफूहरुको कारणले रगत बगाउने शहिदहरुलाई धोका नदिने बताएका थिए । १९९८मा ढाकामा जन्मेका उनी विवाहित हुन् र एक जना भाइ नकिव पनि छन् । उनका बाबु शिक्षक हुन् भने आमा ‘होममेकर’ हुन् । जानकारहरुका अनुसार उनी देशमा परिवर्तन हुनुपर्छ भन्ने गर्दथे । उनको नेतृत्वको आन्दोलनका क्रममा बंगलादेशमा करिब ३०० जनाको मृत्यु भएको छ ।
सेनाले बनाउने सरकार विद्यार्थीहरूलाई अमान्य
बंगलादेशमा नयाँ सरकार गठनको तयारी हुँदै गर्दा विद्यार्थी आन्दोलन सञ्चालन गर्ने नेताहरूले सेनाको नेतृत्वमा अन्तरिम सरकार बने त्यो अस्वीकार्य हुने बताएका छन्। उनीहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन्।
पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बंगलादेशबाट पलायन भएपछि सोमवार सेनाप्रमुखले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए। त्यसपछि साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरूको बैठकपछि अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने घोषणा गरेका थिए।
राष्ट्रपतिले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन्। सेनाप्रमुख जेनरल वकार उज-जामनले मङ्गलवार विद्यार्थी नेताहरूसँग भेट गरिरहेका छन्। बंगलादेशको अन्तरिम सरकारका लागि हुने वार्तामा सेना, विद्यार्थी आन्दोलनका संयोजक र नागरिक समाज समूहसहितका मुख्य पक्षहरू छन्। हसिनाको पार्टी अबामी लीगको प्रतिद्वन्द्वी तथा बेगम खालिदा जियाको दल बंगलादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले अहिलेसम्म प्रधानमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेको छैन।
मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा उक्त दलले विद्यार्थी नेताहरूलाई आफ्नो पूर्ण समर्थन रहने बताएको छ। बीएनपीका अनुसार बेगम खालिदा जियाले नेतृत्व हस्तान्तरण नहुन्जेल सर्वसाधारण मानिसलाई शान्त रहन आग्रह गरेकी छन्।