Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पहिरोमा आफू मरेर बसका ३० बढी यात्रु जोगाएका चालक मेघराजलाई सम्मान

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा भिरबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ ।

गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने भएको हो ।

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले जानकारी दिए । कस्तो सम्मान, कति राहत भन्ने कुरा पछि खुल्ने तर आफू मरेर बसका यात्रुलाई जोगाएकाले चालकलाई मरणोपरान्त सम्मान गर्ने निर्णय भएको भट्टराईले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अर्का एक अधिकारीका अनुसार ती चालकलाई विभूषणसहित सम्मान गर्ने प्रस्ताव कार्यकारी समितिमा पेस भएको थियो । बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले चलाएको बसमा ३० बढी यात्रु थिए । उनीहरू सबै जोगिएका थिए ।

सोही दिन नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोसहित दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर बेपत्ता छन् । दुईवटा बसमा ६५ यात्रु रहेकामा तीन जना पौडिएर ज्यान जोगाउन सफल भए । नेपाल र भारतका गोताखोरसहितको टोलीले खोजी गर्दा २४ जनाको शव भेटिए पनि अन्य यात्रु र बसहरुको अवस्था अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।