Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बंगलादेश सत्तापलट: अन्तरिम सरकार बनाउने सेनाको घोषणा

बंगलादेशमा सैनिक कु भएको छ । देशवासीका नाममा केहीबेर अघि सन्देश जारी गर्दै प्रधानसेनापति वाकेर उज जमानले शासन व्यवस्था लिएको घोषणा गरेका छन्। उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पुष्टि गर्दै तत्कालै अन्तरिम सरकार गठन हुने पनि घोषणा गरेका छन् । सैनिक कुसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ ।

प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  जनरल वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी छन् ।

कोटा प्रणालीको खारेजी माग गर्दै विद्यार्थीले सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबारै देश छाेडेकी थिइन् । प्रधानसेनापतिले धैर्य गर्न सबैमा अपिल गरेका छन् । असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९८ जनाले ज्यान गुमाएका थिए । सोमबार चार लाखभन्दा बढी प्रदर्शनकारीले प्रधानमन्त्री, मन्त्री, सांसदहरूको घर र कार्यालय घेराउ गरेका थिए ।

एक महिनाअघि आन्दोलन सुरु भएदेखि हालसम्म कम्तीमा पनि तीन सयजनाको मृत्यु भइसकेको छ । हालसम्म कम्तीमा ११ हजारजना प्रदर्शनकारी विद्यार्थी र राजनीतिक कार्यकर्ता गिरफ्तारीमा परेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।