सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको एक नेताले बताए । यसबारे आधिकारिक निर्णय भने सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले गर्नेछ ।
एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा सहभागी थिए । सुदूरपश्चिममा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय लिने सहमति भएको एक नेताले बताए ।
नेपाली कांग्रेसले आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय तथा नागरिक उन्मुक्ति पार्टीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिने सहमति भइसकेको छ । सोमबार दिउँसो साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्दैछन् । सोमबार नै उनले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी हुने भएको छ । नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।
उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
शपथ ग्रहणसँगै शाहले मन्त्रिपरिषद् समेत सोमबार नै विस्तार गर्ने तयारी गरेका छन् ।