Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बालेनलाई पूर्वमेयर विद्यासुन्दरको चेतावनी: नगरप्रहरीको बलमा गुण्डागर्दी सैह्य हुँदैन

काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले अहिले मेयर बालेन शाहले नगरप्रहरीको बलमा गुण्डागर्दी गरिरहेको आरोप लगाएका छन् ।

शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा पूर्वमेयर शाक्यले आफ्नो पालामा नगर प्रहरीले एक जनालाई पनि कुटपिट नगरेको बताउँदै अहिले नगरप्रहरीले जनप्रतिनिधिलाई समेत धम्क्याउने काम गरेको आरोप लगाए ।

उनले नगरप्रहरीको बलमा हुने गुण्डागर्दी सैह्य नहुने चेतावनी दिए। 'स्थानीयको इच्छा विपरित महानगरले काम गरिरहेको छ', पूर्वमेयर शाक्यले भने, 'न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको छ । उनले नगर प्रहरी अनावश्यक रुपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गरे ।

पूर्व मेयर शाक्यले महानगर प्रमुख बालेनको धरहरा भत्काइदिने अभिव्यक्तिको प्रतिरोध गरेका थिए । उनले भने, 'धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरुलाई दिने गर्छन् ।'

शाक्यले काठमाडौं महानगरको मेयर हुँदा अघि बढाएका कामबाहेक एक-दुई काम मात्र अहिले नयाँ ढंगले आएको दाबी गरे। आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९औं स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७औं स्थानमा पुगेको उनको भनाइ थियो ।