राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजाको कारण देश बिकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त रहेको आरोप लगाएका छन् ।
राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट भएको समेत थापाले बताएका छन् । पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिबार कुमारिपाटिमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले रोग, भोक,अशिक्षा, गरिवी र पछौटेपनको कारण राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको समेत बताए ।
विदेशीहरूले राजनीतिक दलहरूलाई खेलाइराखेको, दबाब र प्रभाव बढाउँदै लगेको चर्चा गर्दै थापाले राष्ट्रियता संकटमा पर्दा देशको अस्तित्व रक्षाका लागि राजासहितको प्रजातन्त्रको एजेन्डा उठाएको जिकिर गरे । राप्रपा नेपाल परिवर्तन विरोधी शक्ति नभएको परिवर्तन पक्षधर नै भएको तर निरन्तरतासहितको परिवर्तन जरुरी भएको थापाको भनाइ छ । कुनै पनि देशले आफ्नो धर्म, संस्कृति, मूल्य मान्यताको रक्षा बिना प्रगति नगर्ने भन्दै विदेशी शक्तिले बोकाई दिएको भारी बोकेर देशको स्वाधिनताको रक्षा नहुने उनले बताए ।