Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रोल्पा पहिरो अपडेटः हजुरआमा र नातिनीकै शव फेला

पूर्वी रोल्पाको सुनछ्हरी गाउँपालिकाको सिउरी गाउँमा पहिरोमा पुरिएर एकै घरका दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पुरिएर ज्यान गुमाउनेमा हजुरआमा र नातिनी छन् ।

प्रहरीका अनुसार शुक्रबार सुनछहरी–४ कामीडाँडास्थित सिउरीकी करिब ७० वर्षीया बसुना सुनार र उनकी ४ वर्षकी नातिनी माया सुनारको पुरिएर मृत्यु भएको हो । अविरल वर्षाले शुक्रबार दिउँसोको घटनाबारेमा प्रहरीले राति ९ बजेतिर मात्रै जानकारी पाएको थियो ।

स्थानीय देउसिं सुनारको घर पहिरोले पुरिएको हो । घटनास्थलमा पुगेर उद्धार गरेका सुलीचौर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी निकै लामो समयसम्म गर्नुपरेको थियो । देउसिंको ढुंगा र माटोबाट बनेको २ कोठे घर माथिबाट आएको पहिरोमा पुरिएको थियो ।

देउसिं भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । घटनापछि छिमेकीलाई सुरक्षित स्थानमा सारिएको छ । मृतक वृद्धालाई अघिल्लो दिनमा र नातिनीलाई अर्को दिन बिहान भेट्टाइएको हो । घटनास्थलमा उद्धारका लागि पोबाङस्थित प्रहरी कार्यालयबाट थप प्रहरी परिचालित गरिएको थियो । घटनास्थल सदरमुकाम लिवाङबाट करिब ५० किलोमिटर पूर्वमा पर्छ ।