Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सहारा दिने श्रीमती नै थला परेपछि जनयुद्धमा दुबै आँखा गुमाएका वली समस्यामा

सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–१६ भलै निवासी लालबहादुर वलीको जनयुद्धमा दुई वटै आँखा गुमे । विसं २०६० तिर प्रहरीले करेन्ट लगाउँदा उनले आँखा गुमाउनु परेको थियो । 

वलीले साहाराका लागि २०६२ सालमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ दमाचौरकी शान्तासँग बिहे गरे । शान्ता पनि वलीसँग बिहे गर्न तयार भइन् । दुःख सुख गरेर दिनचर्या चलेकै थियो तर एक महिना अघिदेखि श्रीमती शान्ता पनि थलिएकी छन् । सहारा दिने श्रीमती नै थला परेपछि वली परिवार अचेल निकै समस्यामा छ । 

पेटको क्यान्सरका कारण थला परेकी शान्ताको हाल सुशील कोइराला मेमोरियल अस्पताल खजुरामा उपचार भइरहेको छ तर आर्थिक अभाव हुँदा उपचारमा नै समस्या भएको लालबहादुरले बताए । श्रीमती नै बिरामी परेपछि घरमा १७ वर्षीय छोरा र आफू साहाराविहीन भएको उनको दुःखेसो छ । 

वली परिवारको अवस्था नजिकबाट बुझेकी स्थानीय बालिका बुढाथोकीले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको जानकारी दिइन् । ‘लालबहादुरका दुवै आँखा गुमेपछि सहाराका लागि बिहे गर्नुभएको थियो, अहिले श्रीमती नै बिरामी पर्दा उहाँहरू बेसहारा हुनुभएको छ’, बुढाथोकीले भनिन् । 

उनकानुसार अहिलेसम्म उपचारमा करिब रु १२ लाख खर्च भइसकेको छ, अझै रु १८ लाख खर्च हुने चिकित्सकले अनुमान गरेका छन् । सोहीअनुसार रकम जम्मा गर्न भने पनि वली परिवारसँग कुनै विकल्प छैन । ‘एक महिनाअघि श्रीमतीमा क्यान्सर भएको पत्ता लाग्यो, श्रीमान्को २०६० सालमै आँखा गुमिसकेका छन् । आम्दानीको कुनै स्रोत नभएपछि उहाँहरू समस्यामा हुनुहुन्छ । हामीले उहाँको उपचारमा सहयोगका लागि सबैलाई अनुरोध गरिरहेका छौँ’, उनले सुनाइन् ।  

आफूले काम गर्न नसक्ने र आर्थिक आम्दानीको कुनै स्रोत नभएकाले उपचारमा निकै असहज भएको श्रीमान लालबहादुरले बताए । ‘पहिले मलाई स्याहार गरिन्, दुःखमा साथ दिइन् । परिवारको सहारा श्रीमती नै थला परेपछि अहिले हातमुख जोर्न पनि समस्या छ । भएको जायजेथा बेचेर, ऋण काँडेर भए पनि अहिलेसम्म १२ लाख जति खर्च भइसक्यो तर सञ्चो भएको छैन । आर्थिक अवस्थाले थप उपचार गर्नसक्ने अवस्था छैन’,  उनले दुःखेसो पोखे ।