सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । आज शुक्रबार बसेको सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा दिएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा उनले जनताले दलहरूबीच निकै आशा गरेको भन्दै सबै दल मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे ।
सोडारीले सय दिनभन्दा बढी प्रदेश सरकारमा बस्दा निकै राम्रा काम भएकाले सरकारको आलोचना मात्रै गर्न न्यायोचित धारणा राखे । त्यस्तै सम्बोधनका क्रममा उनले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन पनि दिएका छन् । ‘दुई ठूला दलको सहमतिले केन्द्रमा सत्ता परिवर्तन हुँदा प्रदेश यो जर्जरमा आएको हो, यो मेरा कारण होइन,’ उनले भने, ‘हिजो पनि नेकपाको दुई तिहाइको सरकार थियो । त्यहाँ कहाँ पुग्यो । अहिलेको पनि भोलि कहाँ पुग्छ?’
सत्ता गठबन्धन फेरिएपछि बजेट ल्याउने एमालेका मन्त्री सुरेन्द्रबहादुर पाल प्रतिपक्षमा पुगेको उनले बताए । ‘बजेट अलपत्र छोडेर माथिको गठबन्धनले बजेट ल्याउने प्रतिपक्षमा पुग्नुभयो । कार्यकारीले सिफारिस गरेको अधिवेशन अन्त्यको घोषणा ५ दिनपछि भयो । सँगै विशेष अधिवेशनको पत्र पनि आयो,’ उनले भने, ‘अध्यादेशबाट ल्याउन खोज्दा पनि भएन ।’
असार तेस्रो साता आएको बाढी पहिरो पीडितलाई राहत दिन निर्णय गरिसकेको र पीडितको पक्षमा काम गरेको उनको दाबी छ । नेपालमा स्थिर सरकार ३० दिन (एक महिना) मात्रै रहेको उनले बताए । ‘संविधानतः नेपालमा स्थिर सरकारको आयु ३० दिन मात्रै हो । सबैले मार्ग प्रशस्त गर्न सुझाव दिनुभयो । विश्वासको मतका लागि आएको थिएँ । नपाइने जस्तो देखियो,’ उनले भने, ‘त्यसैले मार्ग प्रशस्त गर्छु ।’ केन्द्रमा भएको सत्ता समीकरण फेरबदलसँगै प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए ।