Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो

इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार ९३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।  माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन। वर्षौंदेखि अकासे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन्।  

गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन्। उनको टोलमा ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो। माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी छन्।

राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा ५० लाख ५५ हजार ८८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ। योङहाङ र राई प्रतिनिधि उदाहरण मात्र हुन्। इलामका विभिन्न पालिकामा सञ्चालितका साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन्।

इलाममा आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन्। सूर्योदय नगरपालिकामा ४ करोड १९ लाख २६ हजार ६३४ को लागतमा १०, इलाम नगरपालिकामा ६ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा ९, माङसेबुङ गाउँपालिकामा तीन करोड ४२ लाख ९४ हजार ६६४ को लागतमा ८, माई नगरपालिकामा चार करोड पाँच लाख ९८ हजार ४७५ को लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिए।

योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ। सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार १४२ परिवार लाभान्वित भएका छन्। योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०/२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी गरेको थियो।