Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सौर्य एयरलायन्सको विमानका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज हुँदै

सौर्य एयरलायन्सको दुर्घटनाग्रस्त विमानका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। स्वास्थ्य अवस्थामा  सुधार हुँदै गएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो। 

उनको उपचार भइरहेको  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले स्वास्थ्यमा सुधार हुँदै गएको र खासै जटिलता नदेखिएपछि अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जनाएको छ। 

अस्पतालकी निर्देशक प्रा.डा. मिना थापा उनको स्वास्थ्य सुधार भएको र खासै ठूलो जटिलताहरू नभएपछि घरमा नै बसेर थेरापी लगाएका सेवाहरु लिन सक्ने भएपछि अस्पतालबाट डिस्चार्ज गर्न लागिएको बताइन्। 'खासै ठूलो जटिलता छैन जसले गर्दा अस्पतालमा नै राखेर उपचार गर्नु पर्ने अवस्था छैन । त्यसैले हामीले अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेका हौँ, तर उहाँले घरमा नै गएर हाडजोर्नी विशेषज्ञहरूको निगरानीमा थेरापी लगायतका सेवाहरु भने लिनु पर्छ। यस्तै नाक र आँखामा पनि चोटहरू रहेकाले यी समस्या सम्बन्धी चिकित्सहरुको निगरानीमा पनि बस्नुपर्छ तर अरु कुनै जटिलताहरू भने छैन ' प्राडा थापाले भनिन्। 

गत साउन ९ गते  बिहान पोखराका लागि उडेको सौर्य एयरको विमान २० सेकेन्डमै त्रिभुवन विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।  पाइलट शाक्यको मात्र जिवितै उद्धार गरिएको थियो।