Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बरिष्ठ सईको तलब बढाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले नायव निरीक्षक (सई) को भन्दा कम तलब पाएका बरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई) हरुको पक्षमा परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको बुधबारको संयुक्त इजलासले बरिष्ठ सईहरुको तर्फबाट दायर दुई वटा फरक–फरक रिटमा बरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको हो । बरिष्ठ सई विनय चन्दसहितका १४ बरिष्ठ सईहरुले १६ पुस २०८० मा र उनीहरुले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा–छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । जसमा उनीहरुको माग बमोजिम हुने उल्लेख गरिएको छ ।

सईमा खाएको भन्दा कम तलव भएपछि बरिष्ठ सईहरु चन्दा उठाएर सर्वोच्चमा मुद्दा लडेका थिए । यो मुद्दाको ‘लिडिङ लयर’ को रुपमा नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा। गणेश रेग्मी हुन् । बरिष्ठहरुको पक्षमा मागबमोजिम हुने र परमादेश जारी भएसँगै बरिष्ठ सईहरुले न्याय पाएको उनले बताएका छन् । मुद्दा दर्ता भइसकेपछि यही बीचमा अनिवार्य अवकाशमा गएका बरिष्ठ सईहरुले समेत न्याय पाएको उनले बताएका छन् ।

अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई बरिष्ठ सईले स्वतः विगतको भन्दा थप तलब पाउने र सई र इन्सपेक्टरले जस्तै बरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको उनले बताएका छन् । हाल नेपाल प्रहरीमा जनपदतर्फ १,१७१ वरिष्ठ सईको दरबन्दी छ ।

प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै प्रहरी नियमावली संशोभन गरेर बरिष्ठ सई, वरिष्ठ हबल्दार र सहायक हबल्दार पद सिर्जना गरिएको थियो । दुई वर्षअघि २०७९ मा मात्रै १ हजार १७१ बरिष्ठ सईको दरबन्दीमा सिनियर सईहरु बढुवा भएका थिए ।

तर वरिष्ठको तीन तारे फुली लगाएका उनीहरुले तलब भने सई हुँदा भन्दा कम पाए । सईमा ८ ग्रेडसम्म खाएका उनीहरुले वरिष्ठ सई भए पनि पहिला भन्दा २६२ रुपैयाँ कम तलब पाए । सईमा ८ ग्रेड खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो, अहिले पनि त्यही छ । तर वरिष्ठ सईमा बढुवा भएपछि उनीहरुले २६२ रुपैयाँ कम अर्थात् ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् । १ साउन २०७९ बाट लागू भएको तलवमानअनुसार वरिष्ठ सईको सुरु स्केलको तलव ४० हजार ९९८ रुपैयाँ छ । सईको ३४ हजार ७३० रुपैयाँ छ ।

सई दर्जामा रहेकालाई १ हजार ४५६ रुपैयाँका दरले ८ ग्रेडसम्म दिइन्छ । जसअनुसार ८ वर्ष सई दर्जामा बिताएकाहरुको तलब ४३ हजार ९ सय ९४ रुपैयाँ हुन्छ । तर वरिष्ठ सईमा जम्मा २ ग्रेड दिइन्छ । प्रतिग्रेड १ हजार ३ सय ६७ रुपैयाँका दरले २ ग्रेड थप गर्दा वरिष्ठ सईको तलव ४३ हजार ७ सय ३२ रुपैयाँ मात्रै हुन्छ । जसकारण ८ ग्रेड बुझेका सईहरु वरिष्ठ सईमा बढुवा हुँदा तलब भने कम पाए ।