Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कारसँग मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका एक सिपाहीको मृत्यु

नारायणगढ बसपार्कनजिक आँपटारी समीचोकमा मंगलबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका नेपाली सेनाका एक जना सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना व्यक्ति गम्भीर घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नम्बर २ विपद् व्यवस्थापन गण चितवन ब्यारेकका सिपाही तनहुँ भानु नगरपालिका-१२ का २७ वर्षीय निगम नेपाली सार्कीको मृत्यु भएको हो । उनी चढेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल बा प्र ०१-०२८ च ३२८९ नम्बरको कारसँग ठोक्किएको थियो । मोटरसाइकलको लेगगार्ड कारमा लागेपछि अनियन्त्रित भएर सडकछेउको पर्खालमा ठोक्किएको डीएसपी रिजालले बताए ।

मंगलबार साँझ साढे सात बजेतिर उक्त दुर्घटना भएको थियो । गम्भीर घाइते भएका निगमको उपचारका क्रममा मंगलबार बेलुका आठ बजे चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको डीएसपी रिजालले बताए ।

दुर्घटनामा तनहुँकै बन्दिपुर गाउँपलिका-३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् । थापाको पनि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा नै उपचार भइरहेको डिएसपी रिजालले बताए । कारका चालक धादिङ धुनिबेसी नगरपालिका-७ का ४२ वर्षीय राजु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।