Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जनताको सुख–दुःखको कुरा सुन्न देशभर जान्छु: प्रचण्ड

साउन २५ गतेका लागि बेलाइयो स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको कुरा सुन्न आफू देशव्यापी भ्रमणमा निस्किने उदघोष गरेका छन् । पार्टी पदाधिकारी बैठकमा नेताहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रचण्डले जनतासँग टुटेको कडी जोड्न आफू देशभर जाने बताएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘हाम्रो जनतासँगको कडी टुटेको छ, म देशैभरि एक पटक जनतासँग एकाकार हुन, सुख–दुःखको कुरा सुन्न जान्छु । त्यो केन्द्रीय समितिको बैठकपछि हुन्छ ।’ त्यसबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीभित्रका समस्याबारेमा कुरा राखेको उनले बताए । प्रवक्ता सापकोटाले पार्टीभित्र प्रचण्डको विकल्पमा अर्को नेतृत्वको विषयमा छलफल नभएको पनि बताए ।
 
साउन २५ गतेका लागि बेलाइयो स्थायी समिति बैठक
नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

‘आगामी साउन २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ,’ उनले भने । माओवादीको चार दिनदेखि जारी पदाधिकारी बैठक आज समापन भएको छ । माओवादीको चार दिनसम्म चलेको पदाधिकारी बैठकले स्थायी समिती बैठकका एजेन्डा समेत तय गरेको हो । असार २८ गते सत्ताबाट बिमुख भएपछि माओवादीले पार्टी निर्माणलाई ध्यान दिने भन्दै पदाधिकारी बैठक राखेको थियो ।  बैठकमा सबै पदाधिकारीले स्वतस्फूर्त धारणा राखेको  सापकोटाले बताए ।