Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

दुई वर्ष पुग्न अगाडि नै राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन् । ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन् ।

नेपालका सरकारका सचिवहरुलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए ।

“यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,” उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने,  “असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन । भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन । हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्काे आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।”

यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेहरुलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साता अघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरता सन्देश दिने स्पष्ट गरे । “त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरुले ढुक्कले ठिक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनछ,” प्रधानमन्त्री ओलीले भने ।