प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै पटक २२ सचिवको सरुवा गरेको छ । आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवको सरुवा गरेको हो ।
अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा.रामप्रसाद घिमिरेलाई दिइएको छ भने अर्थ सचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ । त्यस्तै अर्थ मन्त्रालमया राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरे सरुवा भएको एक मन्त्रीले जानकारी दिएका छन् ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ भने श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ । ती मन्त्रीका अनुसार बैठकले कम्तिमा १५ देशका लागि राजदूत समेत नियुक्त गरेको छ ।