Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

ठूला दुई दलको मिलन, खतराको घण्टी: रवी लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले, ठूला दुई दलको मिलन खतराको घण्टी रहेको भन्दै वर्तमान सरकारले भ्रष्टाचारका फाईलहरु खोल्न नपाउँदौं ढाकछोप गरेर बन्द गर्ने प्रयास गरेको आरोप लगाए ।

उनले भने, ‘मैले भन्दै आएको दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो  । हिजो कुरा चल्यो फाईल तिमिहरुले होईन हामीले खोलेका हौं भनेर । अझ काण्ड पनि हामीहरुले नै गरेका हौं भनिदिएको भए पनि राम्रो हुने थियो । फाईल तपाईहरु नै खोल्नु भएको तर बन्द नहुँदै जिउँदै फाईल गाड्ने प्रयास गर्नुभयो जुन फाईलमा प्राण थियो ।’ उनले संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट दुई ठूला दलको नयाँ दलको रास्वपालाई सिध्याउने लक्ष्य रहेको पनि आरोप लगाए ।

आइतबारको विशेष समयमा बोल्दै कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले रवी लामिछानेले आफ्नो कार्यकालमा सिरोहियाको नागरिकताबारे एउटा मात्रै फाइल खोलेको र त्यो पनि खोदा पहाड, निकला चुहा’ भएको अभिव्यक्ति राखेका थिए । त्यस्तै, सोमबार नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

उनले भने, ‘संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट थाहा हुन्छ । सरकारमा रहेका दुई ठूला दलको टारगेट नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी छ । हिजोको कांग्रेसको महामन्त्रीको अभिव्यक्ति आजको एमालेको पुराना नेताहरुको अभिव्यक्तिले के दखाउँछ भने अब यी नयाँलाई ठिक पार्नुपर्छ । एउटा एउटा आरोप लगाइदिनुपर्छ । अनि मात्र हामी जोगिन्छौ भनेर मिलेको स्पष्ट भएको छ ।’