सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको छ : गृहमन्त्री लेखक
सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आज सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुखलगायतसँग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न जीवी राईसहित १८ जना देश बाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।
देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको र उनीहरुलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । त्यस्तै सहकारी ठगीको आरोपमा थुनामा रहेका व्यक्तिसँग पनि छलफल गर्ने भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि निर्देशन दिइएको उनले बताए । समिति संयोजक थापाले छानविन समिति गठन भएपछि केहि सहकारी सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरेको जानकारी प्राप्त भएको उल्लेख गरे । ‘नेपाल सरकार र सम्बन्धित देशबीच गर्नुपर्ने काम हो । उहाँहरू समितिको छानबिनको दायरामा आउन जरुरी छ । १८ जनाको नाम गृह मन्त्रालयलाई दिएका छौं । त्यसमा जीबी राई छन् । उनी सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा हुनुहुन्छ,’ उनले भने ।
उनले विदेश फरार रहेका व्यक्तिहरू संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहे पनि विदेशमा रहेकाले सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको बताएका छन् ।
सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिँदै सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरूलाई पक्राउ गर्न काम गरिरहेको बताए ।
सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरूको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने पनि उनले बताए । देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
यस्तै छानबिन समिति संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारी सम्बन्धी मुद्दामा जेलमा भएकाहरुको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । जसको जवाफ उनले बैठकमा दिएका हुन् । यस्तै गृह मन्त्री लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताए ।
उनले भने, ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु ।’ समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे । बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्त कुँवर पनि सहभागी थिए ।