बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन् । एमाले–कांग्रेस गठबन्धनबाट प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराएसँगै प्रदेश सभाका सभामुखले बैठक आव्हान गरेका हुन् ।
साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् । उनको पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद बैठक आव्हान गरेका छन् ।
मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।साउन १२ मा एक बिना विभागीय मन्त्रीसहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ प्रदेश सभा सदस्य गरी ६४ जनाको समर्थन रहेको छ ।
पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका लामाले एमालेका ६ र कांग्रेसका ६ जनालाई मन्त्री नियुक्त गरेका छन् ।