Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

२०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजना छ: प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजना बनाइरहेको बताएका छन् । 

जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका हुन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रचण्डले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईँहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ।’ उनले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताए ।

प्रचण्डले भने, ‘१८ महिना सरकारको नेतृत्व गर्‍यौँ। हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ। हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ। भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ। यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ।’

पार्टी प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए। कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।