सर्वोदय–(समावेशी अक्षर र अनुसन्धान) संस्थाको आयोजनामा दृष्टिविहीन व्यक्तिहरूको रोजगारी प्रवद्र्धन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौ स्थित चप्पलकारखानामा रहेको नेशनल कलेजमा शुक्रबार सम्पन्न कार्यक्रममा १५ जनाभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो।
दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी पहुँच प्रवर्धन गर्ने विषयमा छलफल केन्द्रित थियो। संस्थाका कोषाध्यक्ष सौगात वाग्लेले दृष्टिविहीन व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण कस्तो छ भनेर चर्चा गरे। कार्यक्रममा बोल्दै उनले दृष्टिविहीनहरूलाई समाजले हेर्ने दृष्टिकोणमा खासै परिवर्तन नआएको बताए। आफूहरू कार्यालयकै पोशाक र परिचयपत्र लगाएर हिँडडुल गरे तापनि दृष्टिविहिन व्यक्तिहरूलाई समाजले दयाको भावमा चित्रण गर्ने गरेको उनले बताए । आफैले लेखेको ‘को देख्छ को देख्दैन’ भन्ने लेखलाई उद्रित गर्दै वाग्लेले समाजले आफैले एउटा धारणा बनाउने र सोही धारणा एवम् पूरातनवादी चिन्तनबाट अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता नबुझी व्यावहार गर्ने गर्दै आएको बताए ।

दृष्टिविहीन भएका व्यक्तिहरूलाई समाजले सकारात्मक दृष्टिकोणले नहेरिदिदा हातमा सीप भएता पनि अन्ततह दृष्टिविहीनहरू अवसरबाट वञ्चित हुनु परेको वाग्लेले दुखेसो पोखे। सरकारी तहमा दृष्टिविहीनहरूको सहभागिता भएता पनि नीजि क्षेत्रमा आफूहरूको सहभागिता न्यून हुनु चिन्ताको विषय भएको उनले भने। नेपाल वायुसेवा निगममा सहायक रहेर हाल काठमाडौस्थित प्रधान कार्यालयमा कार्यरत वाग्लेले दृष्टिविहीनहरूले प्रयोग गर्ने सेतो छडीलाई पहिला ठाउँ दिनु पर्नेमा जोड दिए। सेतो छडीले ठाउँ पाएमा मात्र आफूहरूले अवसर पाउन सक्ने उनको बुझाइ छ। नीजि क्षेत्रमा सञ्चालित कार्यालयहरूले क्षमताको आधारमा दृष्टिविहीन भएका व्यक्तिहरूलाई रोजगारको सृजना गरेमा धेरै हदसम्म दृष्टिविहीनहरूको समस्या समाधान हुने वाग्लेले बताए।
हाल सम्म संस्थाले गरेका गतिविधीहरूको बारेमा संस्थाका कार्यकारी निर्देशक सौरभ तिवारीले जानकारी गराए। आफ्नो प्रस्तुती दिने क्रममा यस कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा थप प्रवर्धन मिल्ने र प्रत्येक संस्थाले कम्तिमा एक जना अपाङ्गता भएको व्यक्तिलाई आफ्नो संस्थामा अनुभव बटुल्ने मौका दिए यो अभियानले सार्थकता पाउने तिवारीले विश्वास व्यक्त गरे। भने कार्य समीतिकी सदस्य रोजिना पोख्रेलले कार्यक्रमको टिपोट गरेकी थिइन ।

उक्त कार्यक्रममा विभिन्न संघसंस्थाहरूका प्रतिनिधीहरूको उपस्थिती रहेको थियो कामना सेवा विकास बैङ्क ब्रान्डिङ एवम् सिएसआर विभागकी प्रतिनिधी श्रेया कुतुले द्रिष्टिविहीन भएका व्यक्तिहरूलाई बैङ्किङ कारोबार गर्नकालागी कुनै पनि बैङ्कले वञ्चित गर्न नहुने बताइन। अहिलेको डिजिटल युगमा एटिएम मोबाइल बैङ्किङ जस्ता सेवाहरू अधिकांश व्यक्तिहरूकालागी अपरिहार्य रहेको उनले भनिन। मोबाइल बैङ्किङ जस्ता सेवाहरू घरमै बसेर चलाउन मिल्ने हुँदा दृष्टिविहीन भएका व्यक्तिहरूकालागी मोबाइल बैङ्किङ जस्ता सेवाहरू अझ आवश्यक रहेको उनले बताइन। प्रभू क्यापिटल लिमिटेडमा समेत अनुभव बटुलिसकेकी उनले उक्त सेवा प्रयोग गर्न चाहेका व्यक्तिहरूलाई बैङ्कहरूले नै मोबाइल बैङ्किङको तालिम दिनु पर्ने बताइन।
महालक्ष्मी विकास बैङ्क मानव संसाधन विवागका प्रतिनिधी सन्तोष सुवेदीले अन्तरक्रिया तथा सम्वाद कार्यक्रमले आफूलाई धेरै कुरा सिकाएको बताए। दृष्टिविहीनहरूको क्षमताको बारेमा खासै थाहा नभएको तर यस कार्यक्रमले नयाँ कुरा सिकाएको उनले भने। दृष्टिविहीन व्यक्तिहरू एकजुट भएमा समस्याको समाधान हुनेमा सुवेदीले विश्वास व्यक्त गरे नेपाल टेलिकम सुनधारामा कार्यरत सहायक प्रशासकीय अधिकृत गौतम पोख्रेलले आफूहरूको काम गराई नै सक्षमताको प्रमाणपत्र भएको बताए।
सक्षमताको प्रमाणपत्र नै काम भएको हुँदा आफूहरूले पाएको काम जिम्मेवारी पुर्वक गर्नु पर्ने र त्यसपछि मात्र समाजले आफूहरूलाई विश्वास गर्ने उनले भने। नेशनल कलेजका प्रधानाध्यापक माधव प्रसाद न्यौपानेले नेशनल कलेजबाट हालसम्म फरकरफरक कार्यक्रममा ३ जना दृष्टिविहीन भएका विद्यार्थीहरूलाई अध्ययन गराइसकेको जानकारी गराए।
कार्यक्रममा माइन्डसेट क्युबका प्रमुख कार्यकारी अधिकृत एवम् मेरो जबलगायत विभिन्न संस्थामा अनुभव बटुलिसकेका राजन कोइरालाले अपाङ्गता भएका व्यक्तिहरूले काम गर्नसक्छन् भन्ने कुरामा अझै पनि समाजले विश्वास गरि नसकेको हुँदा जनचेतनाको अभाव रहेको औँल्याए। कार्यक्रममा खाना सबैका लागि अभियानका प्रतिनिधी नवराज मोक्तान, आयोनका प्रतिनिधी नरेश अवस्ति, हेल्थपानाका सहसंस्थापक रचुमणी लुइँटेल, कम्युनिष्ट इनोभेसन संस्थाका कार्यकारी निर्देशक नवराज खनाल, कन्सर्न नेपालका प्रतिनिधि नारायण पन्थी लगायतको सहभागिता रहेको थियो।