Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सन्दीप लामिछानेविरुद्ध गौशाला-२६ सर्वोच्च नजाने

शान्तिपूर्ण जीवन बाँच्न चाहेको भन्दै आफैले दिइन् निवेदन

नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध गौशाला-२६ सर्वोच्च अदालत नजाने भएकी छन्। गौशाला-२६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएकी हुन् । उनले पत्रमा सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्न चाहेको उल्लेख गरेकी छन्।

क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी हुन् । उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् । गौशाला २६ ले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ । 

उक्त फैसलाको पूर्णपाठ साउन ४ गते  सार्वजनिक भएको थियो । स्रोतका अनुसार पीडितले माथिल्लो अदालतमा नजाने भने पनि सरकारी वकिलले चाहेको खण्डमा भने सर्वोच्च जान सक्ने सम्भावना रहन्छ। सामान्यतया पीडितले नै नचाहेपछि मुद्दा सर्वोच्च अदालतमा पुग्ने सम्भावना कमजोर रहन्छ।

सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेको स्रोतले जानकारी दियो। हस्तलिखित निवेदनमा उनले आफ्नो अवस्थाको फाइदा लिने उद्देश्यले केही संस्था र व्यक्तिहरू निरन्तर लागेकाले मुद्दालाई अघि नलान आग्रह गरिएको जनाइएको छ।

गौशाला-२६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई दोषी ठहर गरेको थियो। तर उक्त फैसला उल्टाउँदै उच्च अदालत पाटनले जेठ २ गते सन्दीपलाई सफाइ दिएको थियो। फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ।