Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पहिलो महिला मुख्यसचिव बनेर इतिहास रचेकी लीलादेवी गड्तौला

निजामती प्रशासनको सर्वोच्च पदमा नियुक्त भएर लीलादेवी गड्तौलाले पहिलो महिला मुख्यसचिवको इतिहास रचेकी छिन्। आज बिहीवारको मन्त्रिपरिषद् बैठकले उनलाई कामुबाट मुख्यसचिवमा पदोन्नति गरेको हो। 

मुख्यसचिव नियुक्तपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्, 'देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई! आजको मन्त्रिपरिषद्‍ बैठकले सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव गड्तौलालाई बधाई!'

अहिलेसम्म कुल २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हाल्दा महि परेका थिएनन्। गड्तौलाले भने महिलाका रूपमा स्थायी सरकार भनिने निजामती कर्मचारी प्रशासनकै सर्वोच्च पद सम्हाल्ने अवसर प्राप्त गरेकी छिन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट २०८१ असार १० गते निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी गड्तौलालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत असार ३१ गते कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

२०२३ भदौ १५ गते तेह्रथुमको पिप्ले हाल म्याङ्लुङ-४ मा  जन्मिएकी गड्तौला २०५२ सालमा निजामति सेवा प्रवेश गरेकी थिइन्। कानून समूहबाट न्याय सेवामा शाखा अधिकृत बनेर प्रवेश गरेकी उनी मुख्यसचिव बन्न भ्याइन्। उनको कार्यकाल एक महिना र अलिकति मात्रै छ। 

उनी आउँदो भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन्। करिब ३५ वर्ष निजामती सेवामा बिताएकी गड्तौला उमेर हदका कारण भदौ १५ मा अनिवार्य अवकासमा जान्छिन्।  गड्तौलाभन्दा तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा र मधुकुमार मरासिनी वरिष्ठ सचिव थिए। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वरिष्ठ सचिव भएकैले उनले निमित्त र कामु मुख्यसचिव हुँदै मुख्यसचिव पद हत्याइन्। 

विगत हेर्दा नेपालको प्रथम महिला सचिव चन्द्रकला किरण (२०४१) पछि सेवा लम्साल पहिलो महिला परराष्ट्र सचिव (२०८०) बनिन्। त्यसपछि पहिलो महिला कायममुकायम मुख्य सचिव (२०८१) का रूपमा गड्तौला भएकी थिइन्। 

उनी २०६३ कात्तिकमा उपसचिव र २०७० माघमा सहसचिव बनेकी थिइन्। विसं २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा बढुवा भइन्। २०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्यसचिव र असार ३१ गतेदेखि कायममुकायम मुख्य सचिव बनिन्।

उनले नेपाल ल क्याम्पसबाट आइएल र बीएल उत्तीर्ण गरेकी छिन्। काठमाडौँ स्कुल अफ ल बाट ह्यूमन राइट्स एण्ड जेन्डर जष्टिसमा स्नातकोत्तर गरेकी गड्तौलाले राजनीति शास्त्रमा समेत एमए गरेकी छन्। लामो समय कानुन मन्त्रालयमा काम गरेकी उनी विधेयक मस्यौदामा बढी दख्खल राख्छिन्। उनीसँग गृह, जलस्रोत, ऊर्जा, उद्योग, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव छ।