Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको अख्तियारको आरोप छ ।

अख्तियारले घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा  इटहरीबाट खटिई गएको टोलीले हुसैनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मु्द्दा दायर गरिएको आयोगले जनाएको छ ।