Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सौर्य एयरलाइन्सको दुर्घटना भएको जहाज २१ वर्ष ४ महिना पुरानो

इन्जिन परीक्षणका लागि पोखरा उडेको थियो

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको बताइएको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । ९एन–एएमई जहाजमा १९ जना सवार थिए ।

उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ । ५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।

बम्बार्डियरले सन्‌ २००३ मे मा सो विमान अमेरिकी वायुसेवा प्रदायक कम्पनी एट्लान्टिक कोस्ट एअरलाइन्सलाई बेचेको थियो । एट्लान्टिक कोस्ट एअरलाइन्सले अगष्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाई सो विमान बेचेको थियो ।