Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

अब हामी सरकार हैन, जनता केन्द्रीत हुन्छौँः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाहरुको पक्षमा काम गर्दा सरकार ढालेको बताए ।

युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको उनको भनाई छ । उनले विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गर्दै विचौलियकै पक्षमा सरकारले काम गर्ने बताए ।

पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको उनको दाबी छ । उनले प्रतिगमनको खतराबिरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरुको मुख्य लक्ष्य रहेको बताए ।

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारको कामबाट आम जनतामा निराशा नरहेको जिकिर गरे । उनले आफू विजयी भएर बेदाग निस्किएको भन्दै ओम्नी, गिरिबन्धु, नक्कली भूटानी शरणार्थी कुनैपनि भ्रष्टाचारका प्रकरणमा आफूहरु नमुसिएको बताए ।

उनले पार्टीलाई अझ उचाईमा लैजाने, जनतामा जाने कुरामा संकल्प गर्नुपर्ने बताए । जनताले संविधानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने खतरा रहेको बताउँदै प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै संविधान मिच्नेको नेतृत्वमा गठबन्धन बनेको बताए । प्रतिगामी कदमको खतरा अझै रहेको बताए । उनले सरकारमा जाने सोचमा आफूहरु नरहेको भन्दै अब जनतामा जाने जिकिर गरे ।