Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आचार्यसहित एमाले–कांग्रेसका ८ जना बिनाविभागीय मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चाय सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति भएको थियो । सोही सहमति अनुसार एमाले र कांग्रेसले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम फाइनल गरिसकेका छन् ।

कांग्रेसबाट मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीले सपथ लिएका छन् ।

एमालेबाट रुपन्देहीका भुमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु र दाङकी सीता शर्मा रहेका छन् । मन्त्रालय भागबन्डामा सहमति नजुटेकोले उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

कांग्रेसले  ५ मन्त्रालय पाएको भएपनि अहिले सरकारमा चार जनामात्र पठाएको छ । आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ ।

लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् ।  उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ ।