बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२)अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।
नुवाकोटका लामा बागमतीको पाँचौं मुख्यमन्त्री हुन् । उनको भोलि बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ । लामाले भोलि नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषदलाई एकै पटक पूर्णता दिने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए । एमालेले ६ मन्त्रीको टुंगो लगाइसकेको छ भने कांग्रेसमा आकांक्षी धेरै भएकाले मन्त्री छनोटमा कठिनाइ भएको जनाइएको छ । कांग्रेसका मन्त्रीहरूको नाम बुधवार बिहानसम्म टुंग्याइ सक्ने लामाको सचिवालयले जानकारी दिएको छ ।
लामा मुख्यमन्त्री बनेसँगै नेपाली कांग्रेसले बागमती सरकारको पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको छ । बागमतीको पहिलो कार्यकालमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य र नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र पाण्डे तथा दोस्रो कार्यकालमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका थिए । जम्कट्टेलले ६ साउनमा प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएपछि नयाँ सत्ता समिकरणअनुसार सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।
लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८ः३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो ।
कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१)बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संसदमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।