Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

घुस लिएको आरोपमा इन्जिनियर पक्राउ

सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर (अधिकृत छैटौं) मोहम्मद हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुसैनविरुद्ध १ लाख रुपैयाँ बिगो मागदाबीसहित मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

हुसैनलाई नगरपालिकाको वडा नम्बर २ स्थित खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत असार १८ मा पक्राउ गरेको थियो । करीब ७ लाख रुपैयाँमा लगाइएको खेल मैदान निर्माणसम्बन्धी ठेक्कामा ‘माथिसम्म मिलाउनु पर्छ’ भन्दै इन्जिनियर हुसैनले ठेकेदारबाट घुसबापत रकम लिएको खुलेको थियो ।

सोही अनुसन्धान टुंगो लगाउँदै मंगलबार उनीविरुद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए । अनुसन्धानको सिलसिलामा हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न भएपछि सरकारी रकम भुक्तानी गर्ने क्रममा उक्त घुस लिएको अनुसन्धानमा देखिएको थियो ।