Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सडक मापदण्ड मिच्दा चल्यो डोजर

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म सडकको दुवैतर्फ चार किलो मिटर दूरीमा  सडक मापदण्डभित्रका  अस्थायी संरचना हटाउन सुरु गरिएको छ । 

पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा चक्ला भइरहेको छ । उक्त सडकको भत्केको चौकीदेखि कोत्रेपुलसम्म सडक मापदण्ड ८२ फिटभित्र सडकदेखि दायाँबायाँ घर अगाडि विभिन्न सरसामान राखिएको तथा अस्थायी संरचना निर्माण गरिँदा पैदल यात्रुलाई हिँडडुल गर्न कठिनाइ भएकाले त्यस क्षेत्रका संरचना हटाउन थालिएको हो ।

यस सम्बन्धमा तल्लो गगनगौ‌डा बजार व्यवस्थापन समितिको गत जेठ ३० गते बसेको उपभोक्ता भेलाले निर्णय गरी आवश्यक पहलका लागि वडा कार्यालयमा अनुरोध गरिएको समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिए । 

यसअघि नै संरचना हटाउन वडा कार्यालयले गत जेठ ३० गते सूचना जारी गर्दै प्रत्येक घरधनीहरूले आ–आफ्नो घर अगाडि मापदण्डमा पर्ने सरसामान, खेती तथा टहरा सूचना जारी भएको मितिले १५ दिनभित्र हटाइ मानिस हिँडडुल गर्न सहज बनाउन अनुरोध गरेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।