Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

केपी ओलीको नेतृत्वमा मुलुक उन्नतीको बाटोमाः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतीको बाटो समात्ने बताएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले संघीय संसदमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै देउवाले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतीतर्फ लैजाने दाबी गरेका हुन् ।

उनले प्रधानमन्त्री अत्यन्त मेहनती र अध्ययनशील नेता भएको भन्दै ओलीको प्रशंसासमेत गरेका छन् । ‘प्रधानमन्त्री ओली अत्यन्त मेहनती र अध्ययनशील नेता हुनुहुन्छ । उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्नेछ भन्ने विश्वास लिएको छु,’ कांग्रेस सभापति देउवाले भनेका छन्।

उनले वर्तमान सरकार गठन भएपछि मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएको भन्दै सरकारले लिने लक्ष्य सफल हुने विश्वास व्यक्त गरेका छन् । देउवाले मुलुकमा बलियो सरकार निर्माणका लागि दुई दलले गठबन्धन बनाएको सुनाए। विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री देउवाले मुलुकको समुन्नतिका लागि राजनीतिक स्थिरता चाहिएकाले कांग्रेस र एमाले ठूला दल मिल्नुपरेको जिकिर गरेका छन्।