Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मानव तस्करको आरोप लगाउँदै उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग

 नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले राजीनामा मागेका हुन् ।

सांसद खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेटड प्रयोग गरेको बताए । यसलाई उनले मानव तस्करसँग जोडेर ब्याख्या गरे ।

सांसद खतिवडाले भने,‘संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाका भिसाको लागि अन्तरर्वार्ताका लागि प्रयोग गरेको पत्र प्राप्त भयो । यस्तो अवस्थामा उपसभामुखले अब संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’

प्रतिनिधिसभामा कुनै पत्र आए सभामुख हुँद महासचिव मार्फत परराष्ट्रमन्त्रालय पुग्नुपर्नेमा त्यसो नभएको भनेर उनले प्रश्न गरे । यो कसले के प्रयोजनका लागि भएको हो भनेर छानबिन गरिनुपर्ने उनको माग छ ।

उनले उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने बताए । सांसद खतिवडाले पैसा लिएर सदनको मर्यादालाई समेत ख्याल नगरी मानव तस्करी गरेको आरोप लगाए।