राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वास मत नदिने निर्णय गरेको हो।
‘साउन ६ गते आइतबारका दिन दिउँसो १ बजे प्रारम्भ हुने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन, र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भनि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेश गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिएको छ,’ प्रमुख सचेतक सन्तोष परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
शुक्रबार बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका थिए। आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ।