Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

त्रिशूली दुर्घटनाः एञ्जल बसका मालिकसहित  १७ शवको सनाखत (विवरणसहित)

असार २८ गते चितवनको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा दुईटा बस खसेर बेपत्ता भएका यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ । शव भेटिएका २५ जनामध्ये हराइरहेको एञ्जल बसका मालिकसहित १७  जनाको सनाखत भएको छ । आठ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि परिचालन भएको छ । भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आजदेखि खोजतलासमा जुटेको हो ।

खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथाशक्य छिटो खोजतलासको काममा जुट्ने बताए । उनले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताएका छन् । सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज चितवन आइपुगेको हो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका छन् । उनीहरूले तीनवटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका छन् ।

ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्छ ।  टोली सात दिनसम्म यहाँ रहने छ । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । २८ असारमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । 

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव फेला पारिएको छ । अझै ३७ यात्रुसहित दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । 

हेर्नुस् मृतकहरूको विवरण

 

2(3).jpg