Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

काठमाडौँको सीतापाइलामा नेपाली सेनाको नयाँ पेट्रोल पम्प सञ्चालनमा

नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ।

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा निर्माण भएको उक्त पेट्रोल पम्पको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे। पचास हजार लिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउनेछन्। 

सेनाले कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसन सञ्चालनमा ल्याएको छ।

नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नाका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्यसहित ती फ्युल स्टेसन सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।