Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

पक्की सडक सञ्जालले फेरिँदैछन् सूर्यविनायकका गाउँ

भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० भङ्गाल, खड्कागाउँ सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने ग्रामीण रिङरोड सडक यतिखेर चिल्लो देखिन्छ । ४० वर्षअघि ट्रयाक खुलेको यो सडकमा एक वर्ष अगाडिसम्म हिँड्डुल गर्न निकै समस्या थियो । हाल चिल्लो सडकमा हिँड्न र गुड्न पाउँदा स्थानीयबासी मख्ख छन् । 

आज नगरपालिकले विकास निर्माणमा भएका प्रगतिबारे जानकारी दिन राष्ट्रिय सञ्चार केन्द्रले यहाँ आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा स्थानीयले वर्षौपछि समस्या समाधान भएकामा खुसी व्यक्त गरे । 

यसअघि कुनै पनि कामले सहर जानु परे बस चढ्न यहाँका स्थानीयले चाँगुनारायण नगरपालिका‐९ ताथली वा काँभ्रेको साँगा पुग्नुपथ्र्यो । स्थानीय खड्कागाउँका ७० वर्षीय गोपाल खड्का वर्षौपछि सडक स्तरोन्नति भएकामा खुसी व्यक्त गर्छन् । ‘म जन्मेदेखि नै गोरेटो बाटो थियो, पछि फराकिलो बन्यो तर स्तरोन्नति नहुँदा हिलाम्मे सडकमा सवारी साधन गुड्न त परै जाओस् वर्षामा पैदल हिँड्न पनि मुस्किल थियो, यी अहिले त कालो चिल्लो सडकमा हिँड्न पाएका छौं । अहिले भाग्यमानी ठानेका छौं ।’

स्थानीय नवीनकुमार खड्का विसं २०६३ मा ट्रयाक खेलेको यो सडकले यतिखेर कालोपत्र भएर पूर्णता पाउँदा यहाँका बासिन्दाले गाउँमै सरकार आएको अनुभूति गरेको सुनाउँछन् । सडक कालोपत्र भएसँगै यहाँका तीन हजार पाँच सय  बासिन्दाको मुहारमा खुसी आएको उनको भनाइ छ । स्थानीय सुमन कार्कीले सडक स्तरोन्नति भएपछि गाउँमा उत्पादित तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान निकै सहज भएको बताए । काठमाडौंबाट तरकारी लिन गाउँमै गाडी आउन थालेपछि यहाँको मुहार नै फेरिएको उनी बताउँछन्। अब नियमित र भरपर्दो सार्वजनिक यातायाताका साधन चल्न सके सुनमा सुगन्ध हुने भन्र्दै उहाँले नगरप्रमुख वासुदेव थापाको ध्यानाकर्षण गराए । 

सूर्यविनायक नगरपालिका सहरी पूर्वाधार विकास शाखाका प्रमुख एवं इञ्जिनियर जनक न्यौपानेले काभ्रे साँगाबाट प्रवेश गरेसँगै सुरू हुने सूर्यविनायक नगरपालिका‐१० भङ्गाल हुँदै खड्कागाउँ, सल्लाघारी चाँगुनारायण नपा‐९ ताथली जोड्ने ग्रामीण रिङरोड सडकको कालोपत्र र ढलान गर्ने कार्य सम्पन्न गरिएको बताए । 

सुक्खा मौसममा आउँजाउँ गर्न गाह्रो हुने भएकाले यहाँ बिरामी हुँदा अस्पताल जान एम्बुलेन्ससमेत आउन नसक्ने अवस्था थियो । अघिल्लो वर्ष एक करोड २४ लाखको लागतमा दुईवटा पुल निर्माण र गत वर्ष कालोपत्रको काम सम्पन्न भएपछि निकै सहज भएको न्यौपानेले बताए ।

उनले संघीय सरकार र नगरपालिकाको बजेटसहित कुल तीन करोडको लागतमा छ मिटर चौडा ३ दशमलव पाँच किलोमिटर सडकलाई कालो पत्र र उकालोमा ढलान गरेर पक्की बनाएको जानकारी दिए ।  दुर्गम भनिएको यस क्षेत्रमा चक्रपथसँगै नगरपालिकाले खानेपानीको अभाव हटाउन ६० लाख रुपैयाँको लागतमा घरघरमा धारो वितरणको व्यवस्था गरेको छ ।

अनुगमनमा वडा नं १० का वडाध्यक्ष शिवराम राउतले ४० वर्ष अगाडि ट्रयाक खुलेको सडकमा एक टिप ग्राइबेल नगरेको अवस्थामा नगरपालिकामा आफूहरू नेतृत्वमा आएपछि कालोपत्र गर्न सफल भएको बताए । वडाले यस वडामा ६० प्रतिशत सडक, खानेपानी तथा पूर्वाधारको काम सम्पन्न गरेको र बाँकी ४० प्रतिशत काम तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ ।

यसैगरी यहाँ निकै समस्याका रूपमा रहेको खानेपानी अभाव हटाउन बृहत भङ्गाल खानेपानी आयोजना भेतासी खानेपानी आयोजना गरी दुईवटा खानेपानी आयोजना सञ्चालन गरिएको र खानेपानीको स्रोत नहुँदा लिफ्टिङ खानेपानी आयोजना सुरू गर्न लागिएको वडाध्यक्ष राउतले जानकारी दिए ।

गुणस्तरीय शिक्षाका लागि चारवटा विद्यालय, स्वास्थ्य चोकी र सामुदायिक भवन बनाएको वडा कार्यालयले नगरको एक करोडको लागतमा राधाकृष्ण मन्दिर निर्माण सम्पन्न गरेको छ । यही मन्दिरमा बृन्दावन बनाउन महायज्ञ लगाएर एक करोड रुपैयाँ संकलन गरिएको थियो । वडा कार्यालय पछाडि ५० रोपनी जग्गामा उपत्यकाकै पहिलो नमूना चिया बगान निर्माण गर्न लागिएको पनि वडाध्यक्ष राउतले बताए ।