Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कलाकार नबनेको भए डाक्टर बन्थे: केकी अधिकारी (भिडियो अन्तर्वार्ता)

शालिग्राम त्यहीँ पत्थर हुन्छ जुन पत्थरले नदीको भेलमा हजारौँ ठक्करको सामना गरेको हुन्छ। जसले असफलताभित्र पनि सफलताको बाटो खोजि/देखिरहेको हुन्छ। त्यस्तै संघर्षशील कलाकार हुन् नेपाली सिनेमा क्षेत्रकी अभिनेत्री तथा निर्माता केकी अधिकारी । रियालिटी सो 'कमेडी च्याम्पियन'मा निर्माता र 'द पोइट आइडल'मा निर्णायकको अनुभव सङ्गालेकी केकीले चलचित्र र म्युजिक भिडियोहरूमा जीवन्त अभिनय गर्ने पात्र हुन्। वि.सं २०४६ पौष महिनाको ३ गते काठमाडौंको जोरपाटीमा रङ्गकर्मी निर्देशक बुवा बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको कोखबाट जेठी छोरीको रूपमा जन्मिएकी नायिका केकीले बाल सिर्जनालय विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गरिन।

भिडियो

अध्ययनमा अब्बल उनी स्कूलका सिर्जनात्मक क्रियाकलापहरूमा समेत सहभागि हुन्थिन। नाटक, वादविवाद, वक्तित्वकला नृत्य जस्ता क्रियाकलापहरूमा सहभागी भइरहने केकीले काठमाडौंको हिमालयन ह्वाइटहाउसबाट १२ सम्मको अध्ययन पूरा गरिन्। प्राइम कलेजबाट प्रविधी व्यवस्थापनमा स्नातक गर्नुका साथै प्रेसिडेन्टल कलेजबाट व्यापार प्रशासनमा स्नातक गरेकी केकीको पहिलो म्युजिक भिडियो कसरी कसरी हो। बनमा फुल्यो फुलैफूल, जिन्दगी यो फुलैफुलको, नानीको चञ्चले, तिम्रो दिलमा चोट लाग्दा, लगायत सफल म्युजिक भिडियोहरूमा काम गरिसकेकी अधिकारीले सन् २०११ मा सिने क्षेत्रमा प्रवेश गरिन। स्वर नामक चलचित्रबाट डेब्यु गरेकी उनले वृत्तचित्र शैलीका चलचित्रहरूमा समेत काम गरेकी छन।

त्यसैगरी १४ वर्षको अवधीमा ३५ ओटा चलचित्रमा जिवन्त अभिनय गरिसकेकी छन् । दर्शकहरूको बीचमा विभिन्न चलचित्र ल्याएकी उनका सफल चलचित्रहरु झिँगेदाउ, प्रदेशी२, महसुस, बिताएका पल, प्रसाद २ छ मायाँ छपक्कै, बोक्सीको घर लगायत हुन् ।

विसं २०७९ सालमा हाम्रो बजार नामक कम्पनीका प्रमुख कार्यकारी रोहित तिवारीसँग केकीले विवाह गरिन् । सिने जगतमा फरक पहिचान बनाएकी कुशल अभिनेत्री केकी अधिकारीले चलचित्र बोक्सीको घर आफ्नो लागी विशेष रहेको बताइन। उक्त चलचित्र हाल नेपालको सिनेमा घरबाट उत्रिसकेको र प्रदर्शन हुन बाँकी देशहरूमा प्रदर्शनका लागी आफूले समन्वय गरिरहेको केकीले बताइन् । बोक्सीको घर चलचित्र दर्शकहरूले मन पराएकोमा उनी खुशी र उत्साहित छिन्।

keki2.jpg

चलचित्र बोक्सीको घरमा बोक्सीको भूमिका निर्वाह गरेकी केकीले महिला प्रधान चलचित्रमा खेल्ने धोको आफ्नो अझै पूरा नभएको बताइन। सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरूले नेपाली माटोको आवाज बोल्ने र चेतना बढाउने भएकाले यस्ता चलचित्रहरू बनाउनु पर्नेमा उनी जोड दिन्छिन्।

सिनेमा हलमा रिलिज गरिने चलचित्र होस अथवा युटुब तथा सामाजिक सञ्जालमा अप्लोड गरिएको म्युजिक भिडियो नै किन नहोस अडियो डिस्क्रेप्सन प्रयोग नभएकोले गर्दा दृष्टिविहिनहरूलाई चलचित्र अनि म्युजिक भिडियोमा भए गरेका गतिविधी हेर्न गाह्रो हुन्छ। अडियो डिस्क्रेप्सन नराखेकै कारणले गर्दा चलचित्र कर्मीहरूले चलचित्र प्रेमी दर्शकहरूलाई गुमाउने गरेका हुन्छन। बोक्सीको घर चलचित्रमा अडियो डिस्क्रेप्सन प्रयोग नभएकै कारणले गर्दा चलचित्रप्रेमी दृष्टिविहिन दर्शकहरूलाई आफूले गुमाउन परेको केकीले बताइन। यस विषयमा आफूले महसुस तथा मनन गरेको उनको भनाइ छ। यस विषयमा आफू गम्भीर भएको र अब बन्ने चलचित्रहरूमा अडिओ डिस्क्रेप्सन प्रयोग गरिने केकीले भनिन्।

डाक्टर बन्ने सपना बोकेकी केकी नृत्यकलाबाट आफ्नो सोँच बदलिएको बताउँछिन्। हिमालयन ह्वाइट हाउस विद्यालयमा अध्ययन गर्दैगर्दा आफूले नृत्य प्रतियोगिताको सूचना पत्रिकामा पढेको र नृत्यमा भाग लिएको उनले सम्झिइन्। नृत्य प्रतियोगिताले नै आफूलाई आज यहाँसम्म ल्याइपुर्‍याएको उनी बताउँछिन्। उक्त प्रतियोगितामा क्यामरा अगाडी आफूलाई पाउँदा धेरै खुशी भएको र आफ्नो खुशी भविष्य त्यहीँबाट नै पहिचान गरेको केकीले बताइन। 'डाक्टरमा भन्दा पनि यसै क्षेत्रमा बढी योगदान पुर्‍याउन सक्छु भन्ने महसुस भएर नै हालसम्म यस क्षेत्रमा छु।' उनी भन्छिन् । समयलाई राम्रोसँग बुझेकी केकीले आफू यदि अभिनेत्री नभएको भए डाक्टर बन्थे भन्छिन्।

keki3.jpg

नृत्य प्रतियोगिता, विज्ञापन, म्युजिक भिडियो हुँदै सिने क्षेत्रको यात्रा तय गरेकी अधिकारीले सिने जगतमा आफूले धेरै सफलता असफलता भोगेको बताइन। चलचित्र निर्माता समेत रहेकी केकीले व्यापारिक दृष्टिकोणले केही चलचित्रहरूमा कम सफलता पाएता पनि आफूले निरन्तर काम गर्न पाउनु फिल्म मेकरहरूले विश्वास गर्नु र आफूलाई हेर्दा दर्शकहरूले कहिल्यै दिक्क नमान्नु समग्रमा आफ्नो लागि १४ बर्षको सिने जगतको यात्रा सुखद् रहेको केकीले बताउँछिन ।

असफलतासँग आफू कहिल्यै नभागेको र हरेक कामले एउटा न एउटा नयाँ कुरा सिकाउने हुँदा त्यसबाट आफू कत्ति पनि विचलित नभएको उनी बताउँछिन्। समयको व्यवस्थापन गर्न नसक्दा आफू निकै व्यस्त भएको जस्तो अनुभव हुने र समयको व्यवस्थापन गर्न सकेमा एकदिनमा धेरै काम गर्न सक्ने उनको अनुभव छ ।

२०७९ सालमा हाम्रो बजार नामक कम्पनीका प्रमूख कार्यकारी अधिक्रित रोहित तिवारीसँग वैवाहिक बन्धनमा बाँधिएकी केकीले सन्तानको प्रसङ्गमा अहिले आफू संघर्ष गरिरहेको र आफूले अझै धेरै काम गर्न बाँकी रहेकाले अझै केही बर्ष प्रर्खिने उनी बताउँछिन्। नेपाल रैबार डटकमकालागि नायिका केकी अधिकारीसँग जीवन बनियाले गरेको कुराकानी भिडियोमा हेर्नुहोसः