Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेपाल एयरलाइन्सले तिर्यो ४३ करोडभन्दा बढी ऋण

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्ता वापतको ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमको पछिल्लो व्यवस्थापन सम्हालेयता २०८१ असारसम्म पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार दुईसय ४९ किस्ता रकम भुक्तानी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

निगमले कोरोना महामारीका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले उक्त अवधिको व्याजको व्याज, हर्जाना र जरिमाना छुट गरिदिन दुई कोषलाई अनुरोध गरेको छ । साथै किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन निगमले दुवै कोषलाई अनुरोध पत्र पठाइएको निगमले जनाएको छ ।