Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जापान पठाइ दिन्छु भन्दै एक महिलाबाट ८० लाख ठगी आरोपमा अर्की महिला पक्राउ

वैदेशिक रोजगारीका लागि जापान पठाइ दिन्छु भनी ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ परेकी हुन् । थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षीया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइ दिन्छु भनी ठगी गरेको खुल्न आएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार आरोपित थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाइ ७९ लाख ९७ हजार नौ सय १९ लिएकी थिइन् । 

प्रहरीले निजको साथबाट चार लाख ८० हजार रुपैयाँ नगद र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । उनलाई ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको रायले बताए ।