वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीन जना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । राष्ट्रिय समाचार समिति (रासस) ले मङ्गलबार ‘सिमलताल पहिरो स् जवाहीरको परिवारमा परेको पीडा’ शीर्षकमा घरमुली जवाहीर हराएपछि सन्तानको पालनपोषण र शिक्षामा समस्या हुने विषयमा केन्द्रित रहेर समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएको भोलिपल्टै अर्थात् आज बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरे । ‘बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ’, नगर प्रमुख सिंहले भने, ‘जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ ।’
जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदाी खसेको थियो । नगर प्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताएका थिए ।