Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रचण्डलाई बाबुरामको आरोपः ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ!

डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आरोप लगाउँदै आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा-ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहेको र केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्– पहिले सत्तामा छककदा वहाँहरूलाई सांसद संख्या पुर्‍याउनु थियो ! अर्को पार्टीबाट निर्वाचन लडेको र जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनावचिन्ह लिएको) मान्छेलाई जबर्जस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गर्नुभयो ! हामीले स्वीकार्यौं ! (भलै गण्डकी प्रदेशको केसमा सर्वोच्च अदालतले जुन दलको उम्मेदवार हो सोही दलको सांसद रहने अन्तरिम आदेश दिइसकेको छ!)

दल त्याग गरिसकेको मान्छेलाई हामीले कानून बमोजिम सबै प्रक्रिया पुर्‍याएर पार्टीबाट विदा गर्‍यौं ! निर्वाचन आयोगले त्यसलाई स्वीकारेर अभिलेखीकरण गरिसकेको छ । अहिले वहाककहरू सडकमा पछारिनु भएको छ ! ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा-ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहनु भएको छ ! केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहनु भएको छ । निवर्तमान प्रम र पूर्व प्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन ? वहाहरू संविधान र कानून भन्दा माथि हो ? राजनीतिमा नैतिकता र मूल्य मान्यता भन्ने केही जिनिस हुँदैन ? सत्ता नै सबै थोक  हो ? यसरी आउँछ ‘समाजवाद’ ?