Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वरिष्ठ अधिवक्ता बडाल फेरि महान्यायाधिवक्ता बन्दै

वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बडाललाई दोस्रो पटक महान्यायाधिवक्ता नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले दोस्रो पटक पनि बडाललाई नै चाहेकाले औपचारिक निर्णय हुन बाँकी छ भए पनि सम्भावना उनैको भएको प्रधानमन्त्री निकट स्रोत बताउँछ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिइसकेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा नियुक्त भएका पोखरेलले आइतबार नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै राजीनामा दिएका थिए । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरिसकेका छन् । 

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलो पटक महान्यायाधिवक्ता नियुक्त भएका थिए । तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए । २०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाएका थिए । बडाल हालको सत्ता गठबन्धन निर्माणका क्रममा पनि बडाल सक्रिय रहेको स्रोत बताउँछ । स्रोतका अनुसार असार १७ गते राति काठमाडौँको चपलीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्नेबारे सहमति गर्दा पनि बडाल उपस्थित थिए ।